३० जेठ, वीरगंज – नेपाल विद्युत प्राधिकरण नेविप्रा का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्राधिकरण “बीच बाटोमा” रहेको र यसलाई अगाडि बढाउनु बाध्यात्मक आवश्यकता भएको स्पष्ट पारे।
“हामी अहिले सहज अवस्थामा छैनौं। प्राधिकरण अहिले जटिल मोडमा छ र निर्णय लिएर अगाडि बढ्नुपर्ने अवस्था छ,” शाक्यले भने। उनले संस्थागत सुधार, वित्तीय सन्तुलन, प्रविधिको विकास तथा जनतासँगको विश्वास कायम राख्न प्राधिकरणले दिगो योजना बनाउनु पर्नेमा जोड दिए।
अहिले ३ हजार ५ सय मेगावाट उत्पादनलाई समेत व्यवस्थित गर्न नसकिएको अवस्थामा सरकारले लिएको २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न धेरै चुनौति रहेको उनले बताए । अहिले विभिन्न कारण र कमजोर प्रशारण लाइनको कारण बेलाबेलामा ट्रिप भइरहेको उनले बताए ।
‘पछाडि २८ हजार ५ सय मेगावाट सरकारले तोकेको उन्नति प्रगतिको लक्ष्य छ । ३ हजार ५ सय मेगावाटको प्रशारण प्रणाली र वितरण प्रणालीलाई हामीले धान्न सकिरहेका छैनौं । हाम्रो प्रशारण प्रणाली कमजोर छ । ट्रिप भइरहेको बताए ।
महाधिवेशनमा सहभागी कर्मचारी तथा सरोकारवालाहरुलाई निर्देशन दिँदै उनले संगठनको आन्तरिक एकता र दक्षता अभिवृद्धि गर्न आग्रह गरे।
नेपाल विद्युत प्राधिकरण अहिले राष्ट्रिय प्रसारण लाइन विस्तार, उत्पादन क्षमताको सुधार तथा वितरण प्रणाली सुदृढीकरणका काममा सक्रिय छ। तर, बजेट, स्रोत व्यवस्थापन र नीतिगत अस्पष्टताको चुनौती अझै कायमै रहेको जानकारहरू बताउँछन्।