वीरगञ्ज, २९ जेठ २०८२
वीरगञ्ज महानगरपालिकाले विद्युत सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आजदेखि विजुलीका पोलहरूमा लत्रिएका तथा जोखिमपूर्ण अवस्थामा रहेका तारहरू हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ। यो अभियान वीरगञ्ज महानगरको निर्देशनमा सुरु गरिएको हो। अभियान अन्तर्गत महानगरपालिकाको विद्युत शाखाले सहरका विभिन्न स्थानहरूमा रहेका अव्यवस्थित, झुन्डिएको वा प्रयोगमा नभएका तारहरू हटाउन थालेको छ। महानगरले जनताका ज्यान र सुरक्षालाई ध्यानमा राख्दै यो पहल अघि बढाएको जनाएको छ। विद्युत शाखाका कर्मचारीहरूले आज बिहानदेखि नै तारहरू काटी संकलन गर्न थालेका छन्। संकलित तारहरू महानगरपालिकाकै जिम्मामा सुरक्षित रूपमा राखिएको विद्युत शाखाले जानकारी दिएको छ। मेयर राजेशमान सिंहले अभियानको प्रारम्भमा बोल्दै भने, शहरमा विद्युत तथा सञ्चारका अव्यवस्थित तारहरूले जोखिम निम्त्याइरहेका छन्। यस्ता तारहरू हटाएर वीरगञ्जलाई सुरक्षित र व्यवस्थित बनाउने हाम्रो दायित्व हो। महानगरका अनुसार यो अभियानलाई चरणबद्ध रूपमा सबै वडाहरूमा विस्तार गरिनेछ। अभियानमा नेपाल विद्युत प्राधिकरण, टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरिएको छ। स्थानीय बासिन्दाले अभियानको स्वागत गर्दै यसले सहरको सौन्दर्य र नागरिकको सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।