काठमाडौं, १७ कात्तिक —डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोड रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरिएको छ।डिभिजन वन कार्यालय इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा श्रेष्ठले पदीय अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठले कानूनी आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएको छ। आयोगको ठहर अनुसार उनले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको पाइएको हो।
आयोगले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम श्रेष्ठविरुद्ध कैद सजाय, बिगो जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफतको माग दाबी राख्दै सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। अख्तियारले हाल पनि सार्वजनिक पदमा कार्यरत कर्मचारीहरूले पदीय दुरुपयोगमार्फत आर्जन गरेको सम्पत्ति विरुद्ध अनुसन्धान तीव्र पारेको जनाएको छ।