आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News देशभर मनसुनी प्रभाव : बाढी, पहिरो र डुबानको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी प्रभाव : बाढी, पहिरो र डुबानको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

124

साउन १९ उत्सव खबर – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनको प्रभाव कायमै रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको तुलनामा उत्तरतर्फ सरेको कारण नेपालका तराई क्षेत्रमा वर्षाको प्रणाली अझै सक्रिय देखिएको छ।

महाशाखाका अनुसार सोमबार बिहानदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ भने अन्य प्रदेशका तराई भूभागहरूमा पनि वर्षा जारी छ। दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहने र अधिकांश स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार राति पनि यी प्रदेशहरूमै मध्यमदेखि भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागहरूमा अत्यधिक भारी वर्षा हुन सक्ने भएकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको बताउँदै आवश्यक सावधानी अपनाउन सबैमा अपिल गरेको छ।

महाशाखाले नदी किनार, पहाडी भूभाग र डुबानसम्भावित क्षेत्रका बासिन्दालाई सजग रहनुका साथै जोखिमयुक्त स्थानमा यात्रा नगर्न सुझाव दिएको छ। स्थानीय प्रशासन र आपतकालीन निकायहरूसँग समन्वय गरेर सुरक्षाका उपाय अवलम्बन गर्न महाशाखाले पुनः आग्रह गरेको छ।