आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ठोरीमा १ हजार घरधुरीलाई लक्षित ‘निर्मलबस्ती खानेपानी आयोजना’ उद्घाटन

ठोरीमा १ हजार घरधुरीलाई लक्षित ‘निर्मलबस्ती खानेपानी आयोजना’ उद्घाटन

118

ठोरीमा १ हजार घरधुरीलाई लक्षित ‘निर्मलबस्ती खानेपानी आयोजना’ उद्घाटन

१० श्रावन, उत्सव खबर

पर्सा — पर्साको ठोरी गाउँपालिका–४, निर्मलबस्तीमा १ हजार घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित निर्माण भएको ‘निर्मलबस्ती खानेपानी आयोजना’ शुक्रबार उद्घाटन गरिएको छ। संघीय खानेपानी मन्त्री प्रदीप यादवले धाराबाट आएको पानी आफैं पिएर आयोजना उद्घाटन गरेका हुन्।

यो आयोजना अन्तर्गत २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, पम्प हाउस, पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट), कार्यालय भवन लगायतका संरचना निर्माण भएका छन्। उद्घाटनपछि शुक्रवार आयोजित कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मन्त्री यादवको हातबाट आयोजनाको औपचारिक शुभारम्भ भएको जानकारी दिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले अब निर्मलबस्तीका स्थानीयले नियमित, सुरक्षित र भरपर्दो खानेपानी सेवा पाउने विश्वास व्यक्त गरे। उनले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका नागरिकका लागि यो आयोजना एक महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। आयोजना सञ्चालनमा आएपछि २ हजार १६५ जना बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।

मन्त्री यादवले सरकार गाउँगाउँसम्म स्वच्छ पानी पु¥याउन प्रतिबद्ध रहेको दोहोर्याउँदै खानेपानीलाई विकासको आधारभूत संरचनाको रूपमा व्याख्या गरे। उनले तराई–मधेसका जिल्लाहरू गम्भीर जलसंकटको सामना गरिरहेको बताउँदै नागरिकको मौलिक अधिकारका रूपमा सुरक्षित खानेपानी सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय रहेको उल्लेख गरे।

यादवले खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्ले मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी पनि दिए।

उक्त कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, निर्मलबस्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, वडाध्यक्ष, जसपाका नेताहरू पत्रकार साथी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।