आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भव्य रूपमा सुरु भयो दुग्धेश्वरनाथ महादेव मन्दिरको साउने मेला, हजारौं श्रद्धालुको सहभागिता

भव्य रूपमा सुरु भयो दुग्धेश्वरनाथ महादेव मन्दिरको साउने मेला, हजारौं श्रद्धालुको सहभागिता

161

 

वीरगञ्ज, असार ३० । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पटेर्वासुगौली गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर रामभौरी भाथा धाम मा साउन महिनाको अवसरमा भव्य साउने मेला सुरु भएको छ। आइतबारदेखि सुरु भएको मेलामा नेपाल तथा भारतका विभिन्न भागहरूबाट जल भरि ल्याएका बोलबम कावरियाहरू बिहानैदेखि शिवलिंगमा जल अर्पण गर्न र दर्शन गर्न मन्दिरमा आउने क्रम जारी छ। धार्मिक विश्वास अनुसार साउन महिनाभर महादेवको दर्शन गरी व्रत बस्दा मनोकामना पूर्ण हुने जनविश्वास रहेकोले हजारौं भक्तजन भाथा धाम पुग्ने गर्दछन्। मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीका अनुसार, “साउन महिनाभर चल्ने यस मेलामा प्रत्येक सोमबार हजारौं भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ।”  पर्सा, बारा, रौतहट, चितवन, मकवानपुर लगायतका जिल्लाका साथै भारतको बिहार राज्यका विभिन्न क्षेत्रका भक्तजनहरू यस पवित्र तीर्थस्थलमा दर्शन गर्न आउने गरेका छन्। भाथा स्थित यो मन्दिरमा वर्षमा चारपटक विशेष मेला लाग्ने गर्छ  , साउन महिनाभर, माघको वसन्त पञ्चमी, फागुनको महाशिवरात्रि र वैशाखको त्रयोदशीमा। ती सबै अवसरहरूमा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहन्छ।