आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News संसद अवरोध खुलाउने विषयमा प्रमुख दलबीच सहमति

संसद अवरोध खुलाउने विषयमा प्रमुख दलबीच सहमति

137

३० जेठ, वीरगंज — लामो समयदेखि जारी संसद अवरोध अन्त्य गर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरुबीच सहमति जुटेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाएर सदन सञ्चालनमा सहकार्य गर्ने सहमति जनाएका छन्।

नेताहरुका अनुसार भिजिट भिसाको नाममा विदेश जाने क्रममा हुने गरेको अपारदर्शी आर्थिक लेनदेनका विषयमा वृहत्तर छानबिन गर्ने सहमतिसँगै संसदको गतिरोध अन्त्य गर्न सहमति जुटेको हो। प्रमुख दलहरुबीच बिहीबार नै छलफलपछि प्रारम्भिक सहमति भएको थियो भने आज त्यसलाई औपचारिकता दिने तयारी भइरहेको छ।

यो सहमतिले संसद पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ, जसले आगामी नीतिगत तथा बजेटीय कार्यक्रम अगाडि बढाउन सहज बनाउने विश्वास राजनीतिक वृत्तमा गरिएको छ।

रास्वपाले भने यसबारे धारणा सार्वजनिक गरिसकेको छैन । रास्वपा अहिले आन्तरिक छलफलमा छ । रास्वपा नेता शिशिर खनालले आफूहरु आन्तरिक छलफलमा रहेकाले केहीबेरमा आधिकारिक धारणा दिने बताए ।

प्रमुख दलहरुले रास्वपाको आधिकारिक धारणा कुरिरहेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजबाट संसदको अवरोध खुल्ने बताए । ‘तर हामी रास्वपाको आधिकारिक धारणा कुरिरहेका छौं,’ उनले भने ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रास्वपाले नमाने पनि आजबाट संसद बैठक सन्चालन हुने बताए ।